हेटौँडा उपमहानगरपालिकाद्वारा पत्रकार पेन्सन कोषमा ५ लाख सहयोग

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको पत्रकार पेन्सन कोषमा यस वर्ष पनि सहयोग गरेको छ । गत वर्षदेखि सञ्चालनमा रहेको कोषमा उपमहानगरपालिकाले अघिल्लो वर्ष १० लाख सहयोग गरेको उपमहानगरपालिकाले यो वर्ष ५ लाख सहयोग गरेको हो ।

पत्रकार महासङ्घले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष स्थापना गरेको छ । महासङ्घ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको समेत एक वर्ष भइसकेको छ ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका शाखाका पूर्व अध्यक्ष समेत रहनुभएका नवराज शर्माले गत वर्षदेखि पेन्सन सेवा लिइरहेका छन् । महासङ्घ मकवानपुर शाखाले साधारण सभाबाट पेन्सन कोष सम्बन्धी कार्यविधि संशोधनसहित पारित गरेको छ ।

उपमहानगरपालिकाले मकवानपुर जिल्लाका एक सय ६४ पत्रकारको पाँच लाख रुपैयाँका दरले दुर्घटना बिमा गरिदिएको छ । बिमा बापत तिर्नुपर्ने प्रिमियम रकम एक लाख २२ हजार २ सय ७० रुपैयाँ बराबरको चेक समेत महासङ्घलाई हस्तान्तरण गरिएको मेयर हरिबहादुर महतले बताए ।

गत वर्षदेखि उपमहानगरपालिकाले मकवानपुरका पत्रकारहरूका लागि दुर्घटना बिमा गर्न सुरु गरेको हो ।