सम्पत्ति शुद्धीकरणको मुद्दा, लम्वोदर न्यौपानेसँगै दुई दिवंगत पनि

काठमाडौं । मृत्यु भए पश्चात पनि भ्रष्टाचार गरेर कमाएको गैरकानूनी सम्पत्ति विरुद्ध राज्यले छानविन गरी कार्वाही गर्ने गरेका घटना कमै देखिन्छन् । यस अघि यस्ता घटना कमै मात्र सुनिँदै आइएको थियो । अहिले भने गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायर गरिएका मध्ये दुई जना दिवंगत भईसकेका व्यक्ति हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यतिखेर अष्टे«लियामा रहेका लम्वोदर न्यौपानेसहित कलेजका तत्कालिन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप छ । त्यसैगरी कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग छ ।

उपेन्द्र गौतममाथि दुई करोड २९ लाख, लबराज भट्टराईमाथि दुई करोेड ७९ लाख र सूर्यबहादुर केसी (दिवंगत) माथि दुई करोड ३४ लाख, हरिप्रसाद पाण्डेमाथि दुई करोड ४३ लाख र दीपक भट्टराई (दिवंगत) माथि ३६ लाख ५९ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग छ । विभागले मृत्यु भएका दुवैजनाको परिवारका सदस्यलाई प्रतिवादी बनाई सम्पत्ति जफतको माग दावी छ ।