गायव भएको भनिएको ५७ हजार खोप खेर गएकोमा परिणत

काठमाडौं । कोभिड १९ न्यूनिकरण गर्नका लागि र जनतालाई कोभिड १९ बाट बचाउन भन्दै ल्याएको कोभिड विद्धको खोप खेर गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप विक्री गरिएको, गायव गरिएको भन्ने चर्चा चलिरहेका बेला सो जाँच बुझ गर्न गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ ।

खेर गएको भनिएको खोप कसरी खेर गयो भन्ने कुनै तथ्या भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले जानकारी दिएको छैन । तर स्वास्थ्य मन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको मात्र उल्लेख छ । कसरी गयो के कारण खेर गयो भन्ने कुरा कतै उल्लेख गरिएको छैन ।

मन्त्री खतिवडालाई हिजो सोमबार समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएपछि आज मात्र सार्वजनिक गरिएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको जनाइएको छ । यस्तै तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ मात्रा खोप बढी भएको देखिएको उल्लेख छ । कोरोनाविरुद्धको खोप छानबिन समितिको प्रतिवेदनअनुसार खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ ।