काठमार्डौ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लबले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लबलाई पराजित गर्दै अलस्टार उपाधि जितेको हो । उपाधिसँगै अलस्टार क्लबले नगद रु ६० हजार र ट्रफी प्राप्त गरेको छ, भने उपविजेता एक्लेफाँटले नगद रु ४० हजारका साथै ट्रफी प्राप्त गरेको छ ।
अध्यक्ष कपअन्तर्गत भलिबलको उपाधि आँबुखैरेनी भलिबल सङ्घले जितेको छ । भलिबलमा आँबुखैरेनी गाउँपालिका–३ उपविजेता बन्यो । विजेता बनेको आँबुखैरेनी भलिबल सङ्घले नगद रु ६० हजार र उपविजेता आँबुखैरेनी गाउँपालिका–३ ले रु २० हजार नगद प्राप्त गरेको छ ।
विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताएका छन् । थापाले गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विविध कारणले अध्यक्ष कप आयोजना गर्न नसकिए पनि सुरुआत गरिएको बताए । आँबुखैरेनी खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले गाउँपालिका भित्रका खेलाडीलाई प्रोत्साहन गर्न र खेलकुदमा आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिएका छन् ।
प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगितामा व्याडमिन्टनतर्फ दीपक गुरुङ र विनय श्रेष्ठको जोडी प्रथम भएको छ । उनीहरुले नगद रु २५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । भगवान् श्रेष्ठ र अभियान श्रेष्ठको जोडी द्वितीय हुँदा उनीहरुले नगद १५ हजार साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सन्तोष थपलिया र मिजेन्द्र थापाको जोडी अनुशासित समूह घोषित भएको छ । उनीहरुले पनि ५० हजार नगद प्राप्त गरेको छ । आँबुखैरेनी गाउँपालिका ३ स्थित खेलमैदानमा खेल सञ्चालन गरिएका थिए ।
Add Comment