तराईका जिल्लामा आज धुमधामसँग होली मनाइँदै

काठमार्डौ । तराई क्षेत्रमा होली अर्थत फागुपुर्णिमा हर्षोल्लासका साथ मनाइँदै छ । रङगको पर्व होली एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझै बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइन्छ ।

केही मुसलमान समुदायका युवाहरुले पनि होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताएका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ ।

कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा होली तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन रहेको छ ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन पहिले देखिनै चलिआएको हो । यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री धेरै बढेको देखिएको छ ।

होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिएका छन् । होली पर्वका कारण बजारमा चहलपहल धेरै बढेको बताएको छ ।