बैंक वित्तीय संस्थामा तरलताको सङ्कट

काठमार्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था सामान्य देखिन्छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा कुनै प्रभाव नपरेको देखिन्छ । गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र भन्ने जस्तो तथ्य देखिन्छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ । घर जग्गाको नामसारी मात्रै पाँच हजार ९ वटा भएका छन् । संशोधनतर्फ कूल ४ हजार ५३९, हाल साविकतर्फ २ हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरणमा छ ।

घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ । गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । माघको महिनाको तुलनामा फागुनमा बढी काम भएको बताएका छन् । घर जग्गाको नामसारीतर्फ ४ हजार २७७ वटा थिए । संशोधनतर्फ ३ हजार ६२२, हाल साविक २ हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिएको छ । विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै ६ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व सङ्कलन भएको छ । घर जग्गाको कारोबारमा रु ५५ करोड ६५ लाख ९४ हजार ४०९ बराबरको छुट समेत पाएका छन् ।

बागमतीतर्फ मालपोत कार्यालय चावहिलमा फागुन महिनामा रु ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले रु ४५ करोड ३२ लाख छ हजार ३५३ बराबरको राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय कलङ्कीले रु ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले रु १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले रु १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले रु ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व संकलन गरेको छ ।

काठमाडौँ उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व सङ्कलन गरेको छ । विभागको विवरण अनुसार लखनखेल मालपोतले रु ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व सङ्कलन भएको छ । मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७, र मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९,मालपोत कार्यालय कास्कीले रु १२ करोड ४५ लाख ३० हजार ९९२, बराबरको राजस्व सङ्कलन गरेको छ । विभागका अनुसार मालपोत कार्यालय चन्द्रौटाले ३ करोड ३५ लाख ८४ हजार ३३८ ,रुपन्देहीले ९ करोड १९ लाख २६ हजार ३२४, बराबरको राजस्व सङ्कलन गरेको छ ।

केही मालपोत कार्यालयले भने मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कमार्फत पनि राजस्व सङ्कलन गरेको छ । प्रदेश नं २ का रौतटह, बारा, पर्साका मालपोत कार्यालयमासमेत सो कोषमार्फत घर जग्गाको कारोबार गर्दा रकम सङ्कलन गरिएको छ । सप्तरीको राजविराज र कञ्चनपुर, सिराहाका दुई मालपोत कार्यालय, जनकपुरधाम, जलेश्वर, महोत्तरी, सर्लाहीका तीन मालपोत कार्यालयले मुख्यमन्त्री स्वच्छता अभियान कोषमार्फत रकम सङ्कलन गरेको छ । त्यसबापत रु चार करोड २९ लाख ५१ हजार ७९४ बराबरको रकम सङ्कलन भएको छ ।