लालपुर्जाविहीनका बारे छानबिन

काठमार्डौ । काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित पैतालिस वर्षदेखि लालपुर्जाविहीन दुई वडाका करिब १ हजार २०० परिवारको जमिनबारे छानबिन गर्न छानबिन टोली पठाइएको छ । ७ र ८ वडामा खटेको दुई टोलीले कोरोना सङ्क्रमणको उच्च जोखिमलगायत विभिन्न कारण २ वर्षदेखि रोकिएको छानबिनको कामलाई निरन्तरता दिने बताएको छ ।

भुम्लू गाउँपालिकाको वडा नं ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपुर्जा वितरण गर्ने उद्देश्यले टोली पठाइएको नापी कार्यालयले जानकारी दिएको छ । गाउँपालिका, सम्बन्धित वडा कार्यालय तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच पटक–पटकको छलफलपपछि पुनः टोली पठाउने सहमति भएको हो । आन्तरिक विवादलगायत रोकिएको कामलाई निरन्तरता दिन दुई टोली खटाइएको छ । रोकिएको काम पुनः सुरु गर्न नापी कार्यालयका प्रमुख राम विनयकुमार सिंहले बताएका हुन । यो पटक पठाइएको टोलीले आन्तरिक विवादसँगै लालपुर्जा वितरणसम्बन्धी वृहत्रुपमा अध्ययन गर्नेछ ।

दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई शाखा स्थापना गरिएकामा नेपालमा पनि कोरोना महामारी फैलिएपछि थालिएको काम रोकिएको बताएका छन् । अहिले कोरोनाको जोखिम घटेपछि २०७७ मङ्सिरदेखि पुनः काम थालिए पनि केही काम नहुँदै पुनः कोरोनाको दोस्रो लहरले छानबिनलाई थाती राखिदिएको हुदा पुसदेखि काम पुनः थालिने गरी टोली पठाइने तयारी गरे पनि कोरोना तेस्रो लहरका कारण नसकिएको सिंहले बताएका छन् । छानबिनका लागि टोली पठाउन ती कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वय भएको थियो ।

दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका ती शाखा कर्मचारीविहीन अवस्थामा थिए । फिल्डमा खटेको नापीको टोली स्थापनाको केही महिनापछि नै फर्किएपछि ४५ वर्षदेखि लालपुर्जाको पर्खाइमा बसेका करिब १ हजार २ सय परिवारमा निराशा छाउनका साथै लालपुर्जा वितरणमा थप अन्योल हुँदै आएको बताएको छ ।

साबिकको पीपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्व तहको विवादका कारण नापी टोली फर्किएको थियो । भुम्लू गाउँपालिकाले ७ र ८ नं वडाका बासिन्दाको जग्गाको छानबिन गरी लालपुर्जा दिन जिल्लास्थित कार्यालयमा माग गरेकामा त्यहाँ कार्यालयको दुई शाखा राखिएको थियो ।

जग्गाको नक्साङ्कन गर्न लाग्दा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीनले फिल्डमा खटिएका नापी र मालपोतको दुबै शाखामा २०७७ माघ महिनासम्म लालपूर्जाका लागि निवेदन दिएका थिए । करिब ३०० को लालपुर्जा तयार भइसके पनि कोरोना सङ्क्रमणका कारण करिब डेढ वर्षसम्म जमिन छानबिन गरी लालपुर्जा वितरणको काम रोकिएको कार्यालय प्रमुख सिंहले बताएको छ । छानबिन गरी पुर्जा दिन केही व्यक्तिको भने मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकाले त्यसबारे गहनरुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको प्रमुख सिंहले भनेका छन् ।

निवेदन बुझ्ने काम भए पनि थप प्रक्रिया भने अघि बढेको थिएन । नापीले मालपोतबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्ता गरी लालपुर्जा दिन सकिने भनीएको छ । अहिले दुवै वडामा तेस्रो पक्षका व्यक्तिमा किनबेच नभएको जग्गा मात्रै दर्ता गर्न सकिने र अन्यको हकमा कानुनी आधारमा निक्र्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको बताएको छ ।

साबिकको भुम्लुटार र फलाँटे गाविसबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् । कार्यालयका अनुसार ७ नं वडास्थित कार्यालयमा ९३२ र ८ नं मा ३१७ थान निवेदन दर्ता भएको बताएको छ ।