बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार भएका २ जना पक्राउ

काठमार्डौ । झापा जिल्लामा बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका २ ठेगाना भएका ४२ वर्षीय नर प्रसाद पनेरू बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी र बहुविवाह मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका ५ बस्ने अर्जुनधारा नगरपालिका ३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले २ दिन कैद गरी ३ लाख ८७ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा १५ हजार ४ सय ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भएको र राजु श्रेष्ठलाई जिल्ला अदालत झापाको २०७५ कात्तिक २९ गतेको फैसलाले १ वर्ष २५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको बताएको छ ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको बताएको छ ।