करोडौंको डायलासिस मेशिन प्रयोगविहीन, विरामीले उपचार पाएनन्

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन् ।

आपूर्तिकर्तालाई मेशिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन नसकेपछि ती मेशिन अस्पताल भवनको सिँढीमुनि थन्क्याएर राखिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलाइसिस गर्ने मेशिन खरिदका लागि अस्पताललाई गत जेठमै बजेटको सुनिश्चितता दिएपनि भुक्तानीका लागि बजेट नपठाउँदा मेशिन हस्तान्तरण नभएको अस्पतालले जनाएको छ ।

सङ्घले बजेट निकासा नदिएकाले मेशिन हस्तान्तरण नभई प्रयोगमा ल्याउन नसकिएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमराज पाण्डेयले बताए । आपूर्तिकर्तालाई ती मेशिनको रकम भुक्तानी बारम्बार आग्रह गर्दै आए पनि सङ्घले बजेट पठाउन ढिलो गरेको उनको भनाइ छ ।

सातवटा मेशिन खरिद गर्न जेएस मेडिहेल्थ कन्सर्न भक्तपुरसँग अस्पतालले रु एक करोड ४६ लाखमा गत असारमा सम्झौता गरेको थियो । खरिद सम्झौतापश्चात् जेएस मेडिहेल्थ कन्सर्नले गत असोजमा मेशिन ल्याएर राखेको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरमा बेला कोरोना सङ्क्रमित मिर्गौलापीडितको डायलाइसिस गर्न भएको समस्यालाई दृष्टिगत गर्दै सरकारले मेशिन खरिदका लागि अनुमति दिएको जनाइएको छ ।

डायलाइसिस सेवा दिनका लागि नर्स, चिकित्सक, मेशिनसम्बन्धी विज्ञ, सरसफाइ कर्मचारीलगायत थुप्रै जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको सुपरिटेन्डेन्ट डा पाण्डेले जानकारी दिए । महिनौँसम्म मेशिन थन्किँदा यस क्षेत्रका मिर्गौला रोगपीडितले भने सहज रुपमा डायलासिस सेवा पाउन सकेका छैनन् । सेती प्रादेशिक अस्पतालले केही महिनाअघिबाट दुईवटा मेशिनबाट आकस्मिक कक्षमा भर्ना हुने बिरामीलाई डायलाइसिस सेवा दिइरहेको छ ।