नेपाल वायुसेवा निगमको जहाज उडान भर्ने तयारी

काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा रहेको छ ।

वैशाख १ देखी नियमित रुपमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी गराएका छन् । अधिकारीले भने व्यावसायिक उडानको अन्तिम तयारीमा छौँ ।” उक्त विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ कम्पनीले चासो देखाएको बताएका छन् ।

बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान भर्न निर्देशन दिइएको बताए । विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् ।

नेपाल सरकारले विमानस्थलबाट उडान भर्न हवाइसेवा कम्पनीलाई औपचारिकरुपमा आग्रह गरिसकेको छ । व्यावसायिक उडानका लागि नेपाल वायुसेवा, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर,जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, ओमन एयरले चासो देखाएका छन् । व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जानकारी दिएको छ । विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान भर्न अनुमति मागेको बताइएको छ ।