कृषि गणनामा १२ गणक र तीन सुपरीवेक्षक छनोट

काठमाडौँ । वैशाख ६ गतेदेखि मनाङ जिल्लामा पनि कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र ३ सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् ।

गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहेका छन् । कृषि गणनाका लागि छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण सङ्कलन गरिने भएको छ । कृषि गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण सङ्कलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी गराएका छन् ।

अधिकृत कोइरालाको अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब ४ हजार १७५ कृषक परिवारको गणना गरिने बताएका छन् । गणनाका लागि करिब २ दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताएका छन् । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा कोइराले गरिएको बताए । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ ।

कृषि गणनाबाट कृषि क्षेत्रको योजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा तथ्याङ्कले सहयोग पुराउने भएको छ । २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/ १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ ।