निर्वाचनमा आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तोकिएबमोजिमको हदैसम्मको कारबाही हुने बताएको छ । निर्वाचन आयोगले आज हेटौँडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा भण्डारीले स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको बताएका छन् ।

आयुक्त भण्डारीले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखीकरण दिइसकेको उल्लेख गरेका छन् । निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारमा भर नपर्न सबैसँग आग्रह समेत गरेका छन् । लोककतन्त्रको सुन्दर पक्ष निर्वाचन रहेकाले जुनै पनि हालतमा निर्वाचन हुने बताएका छन् । आयुक्त भण्डारीले आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको जिकिर गदै उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भव्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि यहाँका सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचनमा विगतमा कारबाही कम भएको देखिए पनि यसपटक यस्तो नहुने भन्दै आचारसंहिता पालना गर्न लगाउन पनि मिडियाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । सञ्चारमाध्यममा आएका समाचारलाई आयोगले सूचनाका रुपमा लिनेसमेत उनको भनाइ छ ।

प्रेस काउन्सिलका सदस्य चिरन्जीवी मास्केले निर्वाचनको समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम, फेक समाचार, सूचना कसरी चिन्ने र प्रकाशन, प्रसारणमा रोक लगाउनाका साथै काउन्सिलबाट हुने कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल, आयोगका शाखा अधिकृत तीर्थराज चापागाई, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले स्थानीय तहको निर्वाचनलाई सबै मिलेर निष्पक्ष र भव्य रुपमा सम्पन्न गराउनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनील खड्काले निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिङका विषयमा कार्यपत्र प्रस्तुत गरेका थियो ।