गाउँमै बाख्रा पालन व्यवसायबाट नाम र दाम दुवै कमाउन सफल

काठमाडौँ । पछिल्लो समय बाख्रापालनबाट राम्रो आम्दानी हुदै आएको छ । तनहुँकी एक महिलाले गाउँमै बाख्रा पालन व्यवसायबाट नाम र दाम दुवै कमाउन सफल भएकी छिन् । तनहुँको व्यास नगरपालिका ४, चुरेखोल्सीमा बाख्रा फार्म सञ्चालन गरेर गायत्री पुडासैनी अधिकारीले नाम र दाम दुवै कमाएका छन् ।

पछिल्लो समय बाख्रापालनबाट निकै राम्रो आम्दानी हुन थालेपछि उनले लगानी थप्दै गएका छन् । अधिकारीले हाल मासिक ५० हजार रुपियाँ आम्दानी हुने गरेको बताएका छन् । ५० लाख रुपियाँ लगानी गरिुकेकी अधिकारीले चालू आर्थिक वर्षभित्रै थप ४१ लाख गरी ९१ लाख लगानी गरेर मासिक २ लाख नाफा कमाउने योजना बनाएको बताएका छन् ।

धिकारीले खालेको गङ्गादेवी बाख्रा फार्ममा बोयर जातका ९० वटा बाख्रा पालेका छन् । तीमध्ये माउ ४३, पाठी २३ र बाँकी पाठाहरु छन् । अधिकारीले बाख्रा पालनका लागि २४ रोपनी आफ्नै, १२ रोपनी भाडाको गरी ३६ रोपनी जमिनमा घाँसखेती गरेको बताए ।

उनले बारीमा नेपिएर, सुपर नेपिएर, स्मार्ट नेपिएर, स्टाइलो, बडहर, रायोखनायो, किम्बुलगायतका जातका घाँस लगाएको बताए ।अधिकारीलाई फार्ममा श्रीमान् नारायण अधिकारी, ससुरा देवीप्रसाद अधिकारी र सासु गङ्गादेवी अधिकारीले सहयोग गरेका छन् । परिवारका सदस्यबाहेक अन्य चार जनालाई रोजगारी दिएको अधिकारीले बताए ।

मासुको माग धेरै हुँदा भारतबाट खसीबोका आयात गर्नुपर्ने बाध्यता हुदा आप्नै गाउँमै बाख्रापालन गर्ने सोच आएको अधिकारीले बताए । उनले सुरुमा डेढ लाख रुपियाँ लगानी गरेर ८ वटा खरी जातको बाख्राबाट व्यवसाय सुरु गरेको बताउदै महँगो मूल्यमा बिक्री हुने भएपछि उनले खरीजातको बाख्रालाई हटाएर बोयर जातको बाख्रा थप्न थालेको बताए । उनले ३ लाख रुपियाँ खर्च गरेर अस्ट्रेलियाबाट बोयर बोका किनेर ल्याएको बताए ।

अहिले उनको फार्म उन्नत जातको पाठापाठी उत्पादन केन्द्र बनेको व्यास नगरपालिका ४ का वडाध्यक्ष विश्वराज न्यौपानेले जानकारी दिएका छन् । बाख्रा पालनमा नमुना कृषक भएकोले गत वर्ष उनले नमुना मोडल फार्मअन्तर्गत २ लाख रुपियाँ अनुदान प्राप्त गर्न सफल भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्राविधिक रुद्रसेन ठकुरीले जानकारी गराएका छन् ।