अन्तर्राष्ट्रिय श्रमिक दिवसमा राष्ट्रपतिको सन्देश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १, २०२२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना दिइएकी छन् । भण्डारीले मुलुकको आर्थिक विकासको प्रक्रियामा श्रम र सीपको महत्त्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “यस अवसरमा मुलुकको उद्योग, कृषि, निर्माण र सेवालगायत श्रमका विभिन्न क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु ।”

राष्ट्रपति भण्डारीले सन्देशमा भनिएको छ, “न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हाम्रो दायित्व हो । नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ”,

जनताको आकाङ्क्षाबमोजिम आर्थिक समृद्धि हासिल गर्न स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक भएको बताइन । त्यसका लागि कृषि, वन, पर्यटन र जलस्रोतमा आधारित उद्योग र सेवा क्षेत्रको विकास गर्दै रोजगारीको खोजीमा विदेशिन बाध्य लाखौँ युवा जनशक्तिका लागि समेत स्वदेशमै अवसरको सिर्जना गर्नुपर्ने उल्लेख गरेकी छन् ।

उद्यमशीलता विकासका लागि पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले श्रमको सम्मान गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको प्रयास रहनु अत्यन्त आवश्यक रहेको, शुभकामना सन्देशमा भनिएको छ ।