कसरी हाल्ने मत ? सिकाउन कोही आएनन् !

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा मतदाताले गुनासो गरेका छन् । तनहुँको व्यास नगरपालिका २ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह भएको छ ।

पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी नभएको बताइन । तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु । उनीले भनीन स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताइन । अहिले घरदैलो अभियान चलिरहेको छ, दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ, एलिनाको भनाइ रहेको छ ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका ४ का दुर्गाविलास भट्टराईले बताएका छन् , निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन भएकाले मतदाता मत हाल्ने बेलामा झुक्किने भएकाले धेरै मत बदर हुनसक्ने उनले बताए ।

भट्टराईका अनुसार मत कसरी हाल्ने भनेर गाउँ, गाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ । गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उनको भनाइ छ । व्यास नगरपालिका ३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले नि नसिकाएको बताए । भोट दिनुस् भन्दै आउँछन्, तर मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बदर मत कम गराउन सचेतना आवश्यकता रहेको भन्दै निर्वाचन आयोगले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा सञ्चालन गर्न नसकेकाले राजनीतिक दल र उम्मेदवारहरूले घरदैलोको क्रममा मतदातालाई यसबारेमा सचेत गराउनुपर्ने ढकालले बताएका छन् ।