पोखरामा पानी परे पनि रोकिएन घरदैलो अभियान

काठमाडौँ । वैशाख ३० म हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरपालिकामा विभिन्न दलका उम्मेदवारले घरदैलोलाई तीव्र बनाएका छन् । भौगोलिकरुपमा देशकै ठूलो नगरपालिका रहेका कारण पनि महानगरका प्रत्येक वडामा पुग्नु चुनौतीपूर्ण रहेको अवस्थालाई दृष्टिगत गर्दै घरदैलोलाई तीव्र बनाइएको हो ।

उम्मेदवारहरु घरदैलोमा पुग्दा स्थानीयले सम्बन्धित क्षेत्रका बाटोघाटो, खानेपानीलगायतका समस्यामा ध्यानाकर्षण गराउने गरेको पोखरा महानगरपालिका–३३ मा गठबन्धनका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले जानकारी दिइएका छन् । पोखरामा बिहान पानी परे पनि त्यसको परवाह नगरी दलहरूले घरदैलोलाई निरन्तरता दिएका छन् ।

नेकपा एमालेले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका३० मा घरदैलो गरेका छन् । एमालेले आज ३०, ३१ र ३२ वडामा घरदैलो सक्ने योजना बनाएको पार्टीका जिल्ला सदस्य एकराज गिरीले जानकारी दिइएका छन् । अधिकांश वडामा घरदैलो सम्पन्न भएको जानकारी दिँदै उनले वडा नं ६, १९, २१, २३, २४ र ३३ नं वडामा घरदैलो बाँकी रहेको बताए ।

कांग्रेससहितका पाँच दलीय गठबन्धनले महानगरका आधाभन्दा बढी वडामा घरदैलो सम्पन्न गरेको पार्टीका जिल्ला सदस्य वर्षाकेशव पराजुलीले जानकारी दिए। गठबन्धनले प्रमुख र उपप्रमुख पदका उम्मेदवारसहित आज बिहान पोखरा महानगरपालिका वडा नं १९ मा घरदैलो गरेको छ । आज नै वडा नं १६ मा पनि घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

अन्य साना तथा स्वतन्त्र दलका उम्मेदवारले पनि महानगरमा घरदैलोलाई सक्रिय बनाएका छन् । घरदैलोसँगै मतदातालाई मतदाता शिक्षासमेत दिने गरिएको राष्ट्रिय नागरिक पार्टीका तर्फबाट पोखरा महानगरपालिका ९ का सदस्य पदका उम्मेदवार कृष्ण रानाभाटले जानकारी दिइएको छ । ३३ वडा रहेको पोखरा महानगरपालिकामा कुल मतदाता दुई लाख सात हजार ७१२ रहेका छन् । छ