पर्सामा भरुवा बन्दुकसहित एक पक्राउ

काठमाडौँ । पर्सामा एक थान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी १ औराहाका २७ वर्षीय सल्टु महतो रहेका छन् ।

प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका १ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिइएका छन् ।

सखुवाप्रसौनी गाउँपालिका १ औराहास्थित जङ्गल छेउमा रहेको स्थानीय मङ्गलबहादुर ब्लोनको घर लक्षित गरी बिहीबार राति महतोले बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ । गोली प्रहार गर्नुको यकीन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा कटुवा गोलीको टुक्रा भेटिएको थियो । पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।