गएराति घरमै सुतिरहेको अवस्थामा बाबु र छोराको हत्या

काठमाडौँ । सिराहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो ।

सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन् । उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको बताएका छन् ।

घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिएको छ । घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौंँ” प्रहरी भने हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौंँ । प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जानकारी गराएको छ ।