आज राष्ट्रपतिद्धारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ ।

त्यसको एक हप्ता अगाडि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आएको छ । नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न गठबन्धन दलहरुबीच गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।

नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ । अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा रहेको छ ।