नयाँ शैक्षिकसत्र सुरु भर्यो, पुस्तक छैन, पुस्तक नहुँदा विद्यालयको पठनपाठन प्रभावित

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो ।

पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् । बेनी नगरपालिका ८ कालीपुलको बालमन्दिर आधारभूत विद्यालयको कक्षा ७ का विद्यार्थी सुरेन्द्र परियारले पुस्तक नहुँदा शिक्षकलाई पढाउन, आफूहरूलाई बुझ्न र गृहकार्य गर्न समस्या भएको बताएका छन् ।

किताब नहुँदा अप्ठ्यारो भएको छ । बालमन्दिर आधारभूतको कक्षा ७ की विद्यार्थी पुष्पा केसीले भने सर, मिसले पढाएको बुझ्न र दिएको गृहकार्य गर्न समस्या भएको छ । कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।

पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीहरूले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् । गाता नभएका, केरमेट भएका र च्यातिएका पुराना पुस्तक पढ्न असजिलो भएको विद्यार्थी इन्द्रबहादुर भण्डारीले बताए ।

नयाँ पुस्तक नआउँदा पढाउन समस्या भएको बालमन्दिर आधारभूत विद्यालयका शिक्षिक गीता सुवेदीले बताएका छन् । पाठ्यक्रम यथावत रहेको कक्षामा पुराना पुस्तक वितरण गरेर काम चलाएका छौँ । फेरिएको पाठ्यक्रमअनुसारको नयाँ पुस्तक नहुँदा पाठ अघि बढाउन नसकिएको शिक्षिले गुनासो गरेका छन् ।

दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि १ हजार ७०० देखि २ हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक १ करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावको कारण देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिएको छ ।

मतपत्र छपाउँदा पुस्तक छाप्न ढिलाइ भएको कारण देखाइए पनि कागज अभावले पुस्तक छपाइलाई प्रभावित बनाएको हो । उनले भने न्यून सङ्ख्यामा छापिएका पुस्तकको वितरण पनि व्यवस्थित छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित कार्यालयले मङ्गलबार आयोजना गरेको वितरकहरूसँगको बैठकले आएका पुस्तक प्रदेशभरका जिल्लामा दामासाहीका दरले वितरण गर्ने निर्णय गरेको छ ।

कक्षा ६ को ३४ हजार पुस्तक आवश्यक पर्नेमा अहिले चार हजार मात्र आएको छ । महासङ्घका प्रदेश अध्यक्ष गौतमले भने पूरा सेटमा पुस्तक नआएको र भएको पुस्तक पनि वितरण व्यवस्थित नहुँदा समस्या हुने देखिन्छ ।

म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । पुस्तक व्यवसायी तथा वितरकहरूका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हात–हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो ।