पाँच जना सचिव सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिए ।

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरिएको जानकारी दिएको छ । त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

सरकारका प्रवक्ता कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजना हुने साइबर सेक्युरिटि लिडरसीप प्रोग्राम तथा तालिममा सहभागी हुन नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

संयुक्त राज्य अमेरिकाको होनोलुलुमा आयोजना हुने कमप्रोहेन्सीभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत गर्ने र भारतमा हुने फूड सेक्युरिटीसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषिमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीृकति दिने निर्णय मन्त्री कार्कीले गरिएका छन् ।

यही जेठ २९ देखि आगामी असार ५ गतेसम्म जर्मनी, बेल्जियम र फ्रान्समा हुने कृषि, फलफूल र सहकारीसम्बन्धी कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय गरेको छ ।