काठमाडौँ महानगरपालिकामा युवाको नेतृत्व, प्रमुखमा बालेन्द्र साह निर्वाचित

काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन् ।

साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्तगरेकी हुन् । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित रहे ।

कामपाको उपप्रमुखमा एमालेका उम्मेदवार डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय हुनुभएको हो । नव निर्वाचित डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८०६ मतमा सीमित हुनुभयो ।

कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख–उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।

कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएको छ भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी भएको छ । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पारेको छ । उनी कामपाको पूर्व नगर प्रवक्तासमेत थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्रमुख–उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो । यहाँ ३ लाख २४२ मतदाता रहेको भने पनि करिब १ लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।