पन्ध्रौँ गणतन्त्र दिवस, गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा

काठमाडौं । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गरेका छन् । उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको र आम जनताबाट चुनिएका जनप्रतिनिधिहरुबाट मुलुकको शासन प्रणाली सञ्चालित भइरहेको बताएका छन् ।

जन चाहनानुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबुत भएको प्रधानमन्त्री देउवाले बताए ।

मुलुकले २००७ सालको राजनीतिक क्रान्ति र विभिन्न आन्दोलनको बलमा राजनीतिकरुपमा ठूलो फड्को मारेको, सङ्घीय शासन प्रणालीसहितको गणतन्त्रात्मक व्यवस्था अङ्गिकार गरेको र नेपालीहरु स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका नागरिक भएको उल्लेख गर्दै नेपाललाई एक समुन्नत र समृद्ध मुलुकका रुपमा अघि बढाउनुपर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्ने खाँचो औँल्र्याका छन् ।

प्रधानमन्त्री देउवाले हामीले जुन अपेक्षा र उद्देश्यका साथ लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना गरेका थियौँ, व्यवहारमा त्यो लागू भएको छ । नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै मुलुकलाई आर्थिक सामाजिकरुपमा सबल र सम्मुनत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले अपेक्षित परिणाम दिन थालिसकेको छ । मुलुकको आर्थिक सामाजिक रुपान्तरणको अभियानमा हामी सबैको योगदान उत्तिकै आवश्यक छ ।

लोकतन्त्रमा राजनीतिक दलका फरक धारणा र विचारहरु हुनु स्वभाविक हो तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकको विकासको पथमा अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ । “समृद्ध मुलुक निर्माणका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुनु जररुरी छ ।

उनले बिनाभेदभाव सबै नागरिकलाई समान हक, अवसर र हैसियत प्रदान गर्ने यस बहुदलीय प्रतिस्पर्धामा आधारित शासन व्यवस्था संसारकै उत्तम शासन व्यवस्थामध्ये भएकाले यस शासन प्रणालीको स्थापनापछि मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रा अघि बढेको बताएका छन् । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट पदाधिकारी र अधिकारीको उपस्थिति रहेको थियो ।