अधिकांश खेतबारी, पाखा पखेरामा आम्दानीको स्रोत बन्दैछ वन लसुन

काठमाडौँ । भोजपुरका अधिकांश वासिन्दाको खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन हाँडे लसुनले राम्रो आम्दानी भएको छ । वसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट १ करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ । व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पु¥याउने गरेका छन् ।

वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा १ करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जानकारी दिइएको छ । खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ । एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०/२५ वर्षसम्म आम्दानी लिन सकिन्छ ।

स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २ सय २० देखि २ सय ५० रुपैयाँसम्म व्यापार गरेका छन् । यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ । एक रोपनी जग्गामा १ सय २० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन् ।

केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आउनु भएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताएका छन् । वार्षिक रुपमा भोजपुरबाट १ करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उनले बताए । लुइँटेलले भने बजारमा वन लसुनको माग धेरै छ । व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन । आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा बिक्री गर्न सकेको उनको भनाइ छ ।

एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन,चैत महिनामा सङ्कलन गर्ने गरिन्छ । यसरी सङ्कलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौँलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन् । स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताएका छन् । यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ ।

वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न  ठाउँमा प्रशस्त मात्रामा पाइन्छ । खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन् । बिक्री हुने थाहा भएपछि अहिले सङ्कलन गरेर सुकाएर बेच्न थालेका छौँ’’ टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भने सङ्कलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन् । यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो भएको बताए । 

यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि २ हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जानकारी दिए । स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताए । धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनावद्ध रुपमा काम गर्ने तयारीमा रहेको प्रमुख राईले बताए । 

रामप्रसाद राई गाउँपालिका १ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । एक कृषकले २ सय देखि ४ सय केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिएका छन् । राम्रो ढङ्गले सङ्कलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ रहेको छ ।