भारत भ्रमण नेपाल र गठबन्धनका लागि अर्थपूर्ण : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण राजनीतिक तथा सद्भावना भ्रमणका रुपमा रहेको बताएका छन् । नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमो हन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र उनी सचिव भएपछि आफूलाई फोन गर्दा जुलाई दोस्रो वा तेस्रो हप्ता उपयुक्त समय हुनसक्छ भनेको भन्दै प्रचण्डले भने, ‘त्यही अनुसार यो भ्रमण हुन लागेको स्पष्ट पारेका छन् ।

आज भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो भ्रमण नेपाल र गठबन्धनका लागि अर्थपूर्ण रहेको बताए ।

भारतीय प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै उनले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने बताए ।

अध्यक्ष प्रचण्डले भारत भ्रमणका विषयमा आज बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग र यसअघि नै परराष्ट्र मन्त्री नारायण खड्कासँग छलफल भएको समेत जानकारी दिएका छन् । प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु भन्दै, उनले छिमेकी देशहरूसँग सन्तुलित परराष्ट्र नीतिमा आफूहरू स्पष्ट रहेको भन्दै भारतबाट फर्केपछि चीन भ्रमणमा जाने बताए ।