जीर्ण कारागारका कैदीबन्दीलाई गर्मी र उडुसको समस्या

काठमाडौँ । जीर्ण बन्दै गरेको लमजुङ जिल्ला कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको मारमा परेका छन् । बेँसीसहर नगरपालिका– ८ मा रहेको यस कारागारमा रहेका कैदीबन्दी गर्मी र उडुसको टोकाइले मारमा पर्ने गरेका हुन् ।

उक्त कारागारको वरिपरी अग्लो पर्खाल र सानो ढोकाभित्र छिरेपछि असरल्ल त्रिपालको बार अनि त्यहाँभित्र भूइँमै छरपष्ट ओछ्यान लगाए र सुत्न बाध्य भएका छन् । त्यहाँभित्र जीर्ण भवनको स–साना र अँध्यारा कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा सँगै खचाखच मान्छे राखेका छन् ।

कानुनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त छ । हाल यहाँ १ सय २ कैदीबन्दी रहेका छन् । उनीहरुलाई कानुनअनुसारको सजाय भइरहेको भए पनि कानुनी मापदण्डको यहाँको कारागारको संरचना छैन । मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वभाविक रुपमै यी समस्या रहेको अड्कल गर्न सकिन्छ । संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसो याम होस् वा गर्मी याम यहाँ उनीहरु बाहैमहिना दिनरात समस्या हुने गरेका छन् ।

पाँच वर्षदेखि जबरर्जस्ती करणी मुद्दामा कैद सजाय भोग्दै आएको चौकीदार नवीन गुरुङले भने, “यहाँ साघुरो ठाउँ छ, त्यहीमाथि क्षमताभन्दा झण्डै चार गुणा कैदीबन्दी छन्, यसले गर्दा खान बस्न, सुत्न त समस्या भइहाल्छ, त्यति मात्र होइन यतिबेला गर्मीको समय भएकाले धेरै जना कोचिएर सुत्नुपर्दा बढी गर्मी हुने गरेको छ, उडुस परेकोले उडुस मार्दै सुत्नु परेको छ ।”

तीन वटा शौचालय मात्र रहेकाले शौचालय जान पनि कति बेला पालो आउला भनेर पालो कुर्नुपरेको कैदीबन्दीको गुनासो छ । कैदीबन्दीका अनुसार वर्षा हुँदा पानी समेत रसाउने तथा भित्र छिर्ने गरेको छ । कारागारमा गर्मीको समयमा पङ्खासमेत पर्याप्त नहुँदा समस्या भइरहेको बताइएको छ ।

सङ्ख्याका आधारमा कारागाराका लागि आठ रोपनीभन्दा बढी क्षेत्रफल आवश्यक पर्ने देखिए पनि सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ÷हुँदैन भनेर केही वर्षअघि नै माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो ।

कारागारका जेलर तारा तामाङले भने, “३५ जनाको क्षमताको कारगारमा उक्त सङ्ख्यामा हुँदा उनीहरुलाई विभिन्न समस्या भइरहेको छ, यो पुरानो संरचना हो, भौतिक संरचना निर्माण गर्न जरुरी छ, हामीले पहल गरिरहेका छौँ ।”

बेलाबेलामा उडुसको औषधि हाले पनि औषधिले उडुस नमर्दा समस्या भएको जिल्ला कारागारले जनाएको छ । कारागारका अनुसार यहाँ पहिलाभन्दा केही सहज भए पनि समस्या धेरै रहेको छ । कैदीबन्दीलाई मात्र नभइ यहाँ सुरक्षाकर्मीलाई समेत समस्या छ । कारागारको २ नम्बरको सुरक्षा पोष्ट भवनको पर्खाल नै भत्किएको छ । यहाँ जोखिम मोलेर नेपाल प्रहरीले डिउटी गर्ने गरेका छन् । यस कारागारमा रहेका कैदीबन्दीमा सुगर, दम, क्षयरोग लगायतका समस्या रहेको कारागारको गुनासो छ ।