एनआईसी एशिया बैंकद्वारा नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ

काठमाडौं । एनआईसी एशिया बैकले नगद रकमलाई सोझै मेशिनबाट जम्मा गर्न सकिने गरी क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको हो ।

नयाँ क्यास डिपोजिट सेवा मार्फत ग्राहकहरूले सहज रुपमा सो बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यो सेवाले बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

सो मेसिनबाट रू.१,००० र रू.५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको र एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम रू.९९,५०० गरी दैनिक अधिकतम रू.९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था वैकले गरेको छ ।

सहज एवं सरल बैंकिङ्गलाई अंगाल्दै आएको बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्म गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नुहुन्छ र उक्त ओटीपी मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।

उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने र त्यसको जानकारी समेत एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो न्यूरोड बिशालबजार शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेकोले नगद जम्मा गर्नका लागि ग्राहकले भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर रकम जम्मा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको बैकका नायव प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँले जानकारी दिनु भएको छ ।