बालेनलाई असफल बनाउन खोज्दा गठवन्धन सरकार आफै असफल वन्दै

काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई निर्वाचन भएकै दिनबाट असफल बनाउने प्रयास भईरहेको देखिन्छ । निर्वाचित भएसँगै महानगरपालिकाको पहिलो कार्यापालिका बैठकबाट नै बालेन्द्र साहलाई असफल बनाउने प्रयास नभएको होइन ।

काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल पहिलो वैठकमा आफै मेयर जस्तै भएर प्रस्तुत भए । जसका कारण वडा अध्यक्षहरुवीच चर्को वहश नै देखियो । राजनीतिक बृत्तभन्दा बाहिरबाट आएका मेयर बालेन्द्रलाई सहि बाटोमा डो¥याउनका लागि नीतिगत एवं प्रशासनिक कुराका बारेमा जानकारी गराउनु पर्ने प्रशासकीय अधिकृतले समन्वय नगरेका कारण अहिलेसम्म पनि बालेन्द्र साह निर्वाचित मेयर भएपनि महानगरपालिकामा कार्यकारी मेयर वन्न खोजिरहेको आरोप लागेको छ ।

हुन त काठमाडौंको प्रमुख समस्या फोहोर व्यवस्थापन हो । यही फोहोर व्यवस्थापनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढेका बालेनलाई करीव ३ महिना वित्न लाग्दा पनि कसैले सहयोग गरेको पाईँदैन ।

१७ वर्ष अघिदेखिको समस्यालाई बालेनले १७ दिनमा समाधान गर्नका लागि उनीसँग कुनै जादुको छडी पनि छैन र त्यो सम्भावना पनि देखिँदैन । निर्वाचन हुनु २ महिना अघिदेखि काठमाडौंको फोहोर व्यवस्थापनको समस्या शुरु भएको थियो । त्यही फोहोर अहिले अझ जटिल वन्दै गएको छ वा भनौं जटिल बनाउने काम भईरहेको स्पष्ट देखिन्छ ।

फोहोर व्यवस्थापनका लागि प्रशासनिक रुपमा प्रमुख प्रशासकीय अधिकृतले नीतिगत रुपमा भूमिका खेल्नु पर्दछ । तर अहिले काठमाडौं महानगरपालिकामा त्यस्तो हुन सकिरहेको छैन । विगतको अभ्यासलाई निरन्तरता दिने मात्र हो भने पनि फोहोर व्यवस्थापनका लागि सहज नै हुने थियो ।

१७ वर्षमा सत्र किलो मिटर बाटो बनाउन नसक्नु नवनिर्वाचित मेयर बालेन्द्र साहको कुनै पनि हिसावले दोष छैन । बालेन्द्र साह त महानगरमा बीसौं वर्षदेखि समाधान हुन नसकेको फोहोरको समस्या समाधान गर्छू भनेर आएका प्रतिनिधि पात्र मात्र हुन् ।

तर, उनले चाहँदैमा मात्र फोहोरको समस्या समाधान हुने छैन । दुई दशक अघि तात्कालिन महानगरका मेयर केशव स्थापितले फोहोरलाई मोहर बनाउने योजना नल्याएका होइनन् । स्थापितले ल्याएको फोहोरलाई मोहन बनाउने योजना सफल त भयो त्यो केवल विचौलिया केही कर्मचारीहरुलाई मात्र । अहिले केही हातका औलामा गन्ने व्यक्तिहरुका लागि काठमाडौं उपत्यकाको फोहोर मोहर बनिरहेको छ भने काठमाडौं महानगरपालिकालाई नैतिक रुपमा संकट परिरहेको विगतदेखि नै ।

विकसित देशहरुमा हेर्ने हो भने निजी क्षेत्रले फोहोर खरिद गरेर लैजाने गर्दछन् तर नेपालमा जनताले पैसा तिरेर फोहोर व्यवस्थापन गरिरहनु परेको छ । अझ काठमाडौं महानगरपालिकाले त हरेक वर्ष करोडौं रुपैयाँ फोहोरका लागि खर्च गरिरहनु पर्ने वाध्यता पनि छ ।

त्यही वाध्यतालाई चिर्न र जनताले तिरेको करलाई सुरक्षित राख्न बालेनले कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गर्ने योजना सहित आए । जनताले निकै विश्वासका साथ बालेनलाई निर्वाचित गराएपछि जनतालाई ‘देखाईदिने’ नाममा सत्ताधारी राजनीतिक दल नै अहिले फोहोरमा राजनीति गरिरहेको देखिन्छ । जुन कुराको पुष्टि सरकारमा रहेको दल धार्दिङ्गका जिल्ला समितिले विज्ञप्ति नै जारी गरेर गरिदिएका छन् ।

बालेन्द्रले भने जस्तै कुहिने फोहोरलाई प्रागांगरिक मल बनाएर किसानहरुलाई वितरण गर्ने, नकुहिने फोहोरलाई पुर्न प्रयोग र विक्री गरेर आम्दानी गर्ने योजना कुनै पनि हालतमा सफल हुन नदिन राजनीतिक दलहरु कम्मर कसेर नै लागेका छन् ।

मेयर बालेन साहलाई असफल बनाउन फोहोरमा राजनीति बढेपछि काठमाडौं महानगरपालिकाको सातौ कार्यपालिका बैठकमा नेपाली कांग्रेस निकट वडा अध्यक्षहरुले नै सरकारले मेयरलाई असफल बनाउन खोजेकाले त्यसका विरुद्ध प्रतिकार गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।

यसले बालेन साहलाई पक्कै पनि सहयोग भने भएको देखिन्छ । बालेनलाई कार्यपालिकाबाट होइन सरकारबाट नै असफल बनाउन खोजेको हो भन्ने कुरा त नेपाली काग्रेसका तर्फबाट निर्वाचित वडा नं. ३० का अध्यक्ष दलबहादुर काकीले स्पष्ट नै मुख खोलिदिएका छन् ।

कार्कीले कार्यपालिका बैठकमा भनेका छन्, ‘ सरकारले महानगरपालिकालाई असफल बनाउन फोहोरको राजनीति गरिरहेको छ, यदि त्यस्तो हो भने मेयरज्यू अगाडि बस्नुस हामी फोहोरको सवारी सिंहदरबार, बालुवाटार, कोटेश्वर र पेरिस डाँडामा लगेर मिल्काउने छौं । ’

हुन पनि अहिले कसरी हुन्छ बालेन साहलाई असहज बनाउने, फोहोरको समस्या यो वा त्यो नाममा बल्झाई रहने र स्वतन्त्र निर्वाचितलाई बदनाम गराउने अभियान नै चलाईरहेको देखिन्छ । अहिले सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई असफल बनाउँछु भन्ने खेल खेलिरहँदा गठवन्धन सरकार आफै असफल वन्दै गईरहेको छ ।

मुलुक बालेन साहले चलाएका होइनन् ७ सय ५३ स्थानीय तह मध्येको एउटा स्थानीय तहको नेतृत्व लिएका हुन् सायद सरकारले त्यो कुरा भुलेर एउटा व्यक्तिलाई असफल बनाउने नाममा आफ्ना लाखौं जनतालाई धोका दिने प्रपञ्च रचिरहेको देखिन्छ । त्यसैले गठवन्धन सरकारले बुझ्न पर्ने कुरा के छ भने फोहोरमा गरिएको फोहोरी राजनीतिले बालेन साह होइन गठवन्धन सरकार नै असफल हुँदैछ ।