भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो, २५ बेपता

काठमाडौँ । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् ।

उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी प्रान्तमा ५५ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेसम्म यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन् ।

सेप्टेम्बर ५ का दिनमा स्थानीय समयानुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ‘चाइना भूकम्प नेटवर्क सेन्टर’ले जानकारी दिएको थियो । भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो ।