मिटरब्याज पीडितहरुको आन्दोलन जारी

काठमाडौँ । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुको आन्दोलनमा मंगलबार पनि प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलमा शान्तिपूर्ण आन्दोलनमा बसेका मिटरब्याज पीडितहरुमध्ये ३० जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

४ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीलाई कारण देखाउँदै धर्नाका लागि माइतीघर आउन लागेका किसानलाई निषेध गर्न सोमबारदेखि प्रहरी परिचालन गरिएको छ । न्यायका लागि तराईका विभिन्न स्थानबाट काठमाडौं आएका मिटरब्याज पीडितहरुमाथि प्रहरीले सोमबार पनि बल प्रयोग गरेको थियो ।

तराईबाट आएका पीडितहरु ४२ दिनदेखि कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका छन् । कीर्तिपुरमा अस्थायी रुपमा बसी ४२ दिनदेखि माइतीघर मण्डलमा पुगेर शान्तिपूर्ण आन्दोलनमा बसिरहने उनीहरु सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका थिए ।