घरमै परिचयपत्र पाउँदा खुशी छन् ज्येष्ठ नागरिक

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिका–१ मान्हौका ६५ वर्षीया मधुमाया कामीले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । गाउँपालिकाको कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन नभ्याएका उनले घरैमा ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुसी लागेको बताए बताए ।

“गाउँपालिका जान भ्याएको थिइनँ, घरमै ल्याएर गाउँपालिकाले दियो”, उनले भने, “स्थानीय सरकार घरमै आएजस्तो अनुभूति भयो ।” स्थानीय तह निर्वाचनका बेला उम्मेदवार घरघरमा आएर भोट मागेको सम्झिँदै उनले सेवा पनि घरदैलोमा नै आउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

सोही ठाउँकी बुद्धिमाया कामीले पनि घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । “सिंहदरबारको अधिकार गाउँमा भन्ने त सुनेका थियाँो, आज त आफैँले घरदैलोमा सेवा पाउँदा साँच्चै हो रहेछ भन्ने अनुभूति भयो”, उनले भने। ओमबहादुर आलेले घरको डिजिटल नम्बर शिविरकै अवसरमा प्राप्त गरे । उनले घरदैलोमा नै सेवा पाउँदा समयको बचतसँगै गाउँपालिकासम्म पुग्दा लाग्ने खर्चको पनि बचत भएको बताए ।

जनतालाई घरदैलोमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । उक्त ठाउँका एक सयभन्दा बढीलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “जनतालाई गाउँघरमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाका सम्पूर्ण सेवा घरदैलोमै पु¥याउने प्रयास गरेका छौँ”, उनले भने, “गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा घरदैलोमा नै प्रदान गर्छौँ ।”

म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताए । “स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ”, उनले भने ।

कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फार्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिएको छ ।

एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं १ मा, असोज ५ र ६ गते वडा नं २ मा, असोज ७ देखि ९ सम्म वडा नं ३ मा, असोज ११ र १२ गते वडा नं ४ मा, असोज २७ र २८ गते वडा नं ६ मा र असोज ३० र ३१ गते वडा नं ७ मा सञ्चालन हुनेछ ।