सयपत्री फूलका मालाको आयातमा रोक

काठमाडौँ । सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रस्तावमा आयातमा रोक लगाइएको बताइएको छ । व्यवसायीले आवश्यकताभन्दा धेरै माला आयात गर्न थालेपछि आयातमा रोक लगाइएको हो । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले व्यवसायीले अस्वाभाविक रूपमा आयात गर्न थालेपछि बजारमा स्वदेशी मालाले मूूल्य नपाउने हुँदा आयातमा रोक लगाउन प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

“तिहारलाई अपुग हुने माला एक हप्ताअघि नै आयात भइसकेको छ । थप आयात नहोस् भनेर आयातमा रोक लगाइएको हो,” उहाँले भन्नुभयो । फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारका बेला बढी खपत हुने हुँदा सयपत्रीको तीन लाख माला अपुग हुने उहाँले जानकारी दिनुभयो ।

स्वदेशी उत्पादनले तिहारमा ९० प्रतिशत बजार माग धान्ने र १० प्रतिशत आयात गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

एसोसिएसनका अनुसार यसपालि तिहारमा २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको छ । जसमा २० लाख सयपत्री, चार लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ ।

तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाख रुपियाँको कारोबार हुने फ्यानले जनाएको छ ।

गत वर्ष सयपत्री फूल माला नौ करोड ९८ लाख रुपियाँ, मखमली फूलको माला एक करोड ४२ लाख रुपियाँ र गोदावरी फूलको माला ५२ लाख गरी ११ करोड ९२ लाख रुपियाँको कारोबार भएको थियो । यो वर्ष माग १० प्रतिशतले बढ्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

यो वर्षको तिहारमा सयपत्री फूलबाहेक अन्य फूल मालाको मूल्य बढ्ने भएको छ । एसोसिएसनका अनुसार सयपत्री फूलको प्रतिमाला ५५ रुपियाँमा बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो ।

मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा पाँच रुपियाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५ रुपियाँ कायम भएकामा यो वर्ष ४० रुपियाँ तोकेको एसोसिएसनले जनाएको हो । यस्तै गोदावरी फूलको माला ५० रुपियाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपियाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष चार सय रुपियाँ तोकेको छ ।

एसोसिएसनका अनुसार गत वर्षको तिहारमा १८ लाख १५ हजार व्यावसायिक सयपत्री फूूलको माला खपत भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सयपत्री फूलको मागमा वृद्धि हुने अनुमान गरिएको तामाङले जानकारी दिनुभयो । गोरखापत्रपोष्टबाट