ढाका टोपीको शान , नेपालीको पहिचान

काठमाडौँ, पुस । ‘नेपाली टोपी ः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस मनाएको छ । हुन पनि ढाका टोपी नेपालीको पहिचानको महत्वपूर्ण अंग हो ।
तपाईको शिरमा ढाकाको टोपी छ र तपाई विश्वको जुनसुकै कुनामा जानु भएको छ भने पनि तपाईले आफ्नो परिचय र पहिचान दिईरहनु आवश्यक छैन । विश्वका जुनसुकै देशमा व्यक्तिले पनि तपाईलाई नेपाली हो भनेर पहिचान गर्न सक्छन् । हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षको दिन विगत छ वर्षदेखि ‘टोपी दिवस’ मनाउँदै आईरहेको छ ।
सदियौँदेखि नेपाली पहिचानका रुपमा रहेको दौरासुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
राष्ट्रिय पोशाक दौरासुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।