काठमाडौं, १७ पुस । संघीय संरचना अनुरुप जनतासँग प्रत्यक्ष रहने स्थानीय सरकारले नै ऐन कार्यान्वयन नगरेपछि पत्रकारले ध्यानाकर्षण गराएका छन् । मुलुककै जेठो महानगरपालिका काठमार्डौ महानगरपालिकाको सञ्चार माध्यम मेट्रो एफ.एम मा कार्यरत सञ्चारकर्मीहरुलाई महानगरले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हालसम्म नगरेपछि सो ऐन कार्यान्वयन गराउन उनीहरुले माग गरेका छन् ।
मंगलबार महानगरको सञ्चारमा काम गर्दै आईरहेका पत्रकार तथा सञ्चारकर्मीहरुले स्थानीय सरकारले नै ऐन कार्यान्वयन गरेको भन्दै श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन माग राख्दै सूचना तथा प्रविधि विभागका प्रमुख राज्य प्रकाश प्रधानाङ्गलाई ध्यानकर्षण पत्र बुझाएका छन् ।
सरकारले बनाएको ऐन कार्यान्वयन गर्ने काम स्थानीय सरकारले भएपनि हालसम्म गरेको छैन । करीव दुई दशकदेखि सञ्चार गृह सञ्चालन गरेको काठमाडौं महानगरले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगराउनु लज्जास्पद भएको भन्दै पत्रकारहरु आन्दोलनको तयारीमा जुटेका छन् ।
ध्यानाकर्षण पत्र बुझाउँदै नेवा पत्रकार दबुका अध्यक्ष समेत रहेका महानगरकै सञ्चारकर्मी श्र्रीकृष्ण महर्जनले लामो समयदेखि श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्नका लागि महानगरसमक्ष अनुरोध गरिरहँदा पनि आफूहरुको मागलाई वेवास्ता गरेको आरोप लगाए ।
ध्यानकर्षण पत्र बुझाउन पुगेका महानगरको अनलाईनमा कार्यरत अर्का सञ्चारकर्मी चन्द्रमणि भट्टराईले स्थानीय सरकारका रुपमा रहेको काठमाडौं महानगरपालिकाले सरकारले ल्याएको ऐन कार्यान्वयन गर्नुपर्ने, स्थानीइ तहलाई सञ्चार व्यवस्थापनका लागि दिएको अधिकार प्रयोगमा ल्याउनका लागि पनि श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन आफैले शुरु गर्नु पर्ने बताए ।
सूचना तथा प्रविधि मन्त्रालय मातहतमा रहेको पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहेका महानगरले सञ्चालन गरेको रेडियो मेट्रो एफ.एममा कार्यरत सञ्चारकर्मी राजु लामाले महानगरले सञ्चालन गरेको रेडियो मै श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नहुने दुखद् घटना भएको बताए ।
महानगरमा कार्यरत सञ्चारकर्मीले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउनका लागि विभागिय प्रमुखलाई दिएको ध्यानाकर्षण पत्र महानगर प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोलसँगै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समिति र प्रेस रजिष्टर्डको कार्यालयलाई बोधार्थ दिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्गले — सञ्चारकर्मीले राखेको माग प्रमुख, उपप्रमुख र समितिसँगको छलफलमा लैजाने बताए ।
Add Comment