हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो संसद भंग गर्दैनौं : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले चुनाव जितेपछि बिना कारण संसद भंग नगर्ने बताएका छन् । देउवाले आफ्नो विरोध हुने वित्तिकै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिसको झोकमा विना कारण संसद भंग गरेको आरोप लगाएका छन् । उने भने, हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौं । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ ।

लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गरे । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँचदलीय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न समेत आग्रह गरे ।

सम्बोधनकै क्रममा देउवाले जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे ।

पश्चिम नवलपरासी १ मा भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार छन् । देउवाले भने चौधरीलाई यस क्षेत्रबाट विजय बनाउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिएका छन् ।