नेपाली नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् ।

नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुने नेपाली जनशक्तिलाई रोक्नुपर्ने बताए। उनका अनुसार देशले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको छैन, रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्छ ।

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाखसम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने बताएका छन् । स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको मन्त्री कुँवरको भनाइ रहेको थियो ।

मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरुभन्दा विदेशीहरु बढिरहेको भन्दै नेपाली श्रमिकलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताउनुभयो । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० जनाले श्रम स्वीकृति लिएर विदेश गएको उनको भनाइ रहेको छ ।

उनले लुकेर र भिजिट भिसामा विदेशमा गई काम गर्नेका लागि कुनै समस्या परे राज्यले दिने सेवासुविधा नपाउने उल्लेख गर्नुभयो । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमिकको नियमन गर्न नसकेको बताउनुभयो । गत ३ वर्षको तथ्याङ्कअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको उनको भनाइ थियो ।