महिलामा पाठेघरसम्बन्धी समस्या बढी


दाङ, २ चैत । महिलामा पाठेघरसम्बन्धी समस्या बढी रहेको छ । विशेष गरेर जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो रोगबाट बढी पीडित हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सुनपुरमा आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलाको सङ्ख्याले सो कुरा पुष्टि गरेको हो ।
यस्तै समस्या भएकी महिलामध्ये एक तुलसीपुर उपमहानगरपालिका–१ पवन नगरकी टुन्कीकुमारी भण्डारी । ६५ वर्षीया भण्डारीको १५ वर्षको कलिलो उमेरमा घर नजिकै लड्दा पाठेघरअर्थात् आङ खसेको रहेछ तर उनले घरका कुनै सदस्यसँग आफ्नो यस्तो समस्या भएको भनी नबताएको बताइन् । पाठेघर खस्यो भन्न लाज लाग्यो त्यसैले कसैलाई भनिनन् तर अहिले घर नजिकै शिविर आएपछि उपचार गराउन आए । यो त रोग रहेछ लाज मान्नुपर्ने रहेनछ भन्ने सोचाइ आयो उनले भनिन् ।
रोग लुकाउने प्रवृत्ति, आर्थिक अभावका कारण वर्षौंदेखि सो रोगको उपचार गर्न नसकेका दाङका महिलालाई लक्षित गर्दै तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको समन्वयनमा तुलसीपुर उपमहानगरपालिका वडा नं १र २ को संयुक्त आयोजनामा शुक्रबार सो क्षेत्रमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।