म्याग्दी नदीमा मोटर चल्ने पुल निर्माण शुरु

म्याग्दी, चैत । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर र अर्मन जोड्ने पुल निर्माण निर्माण गर्न थालिएको छ ।
सडक डिभिजन कार्यालयले मङ्गला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा न. ५ अर्मनको मसानघाटमा मोटर चल्ने पक्की पुल बनाउन लागेको हो ।
चालिस÷चालिस मिटरको ‘डबल स्पाम’ भएको ८० मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण गर्न लागिएको उक्त कार्यालयका सूचना अधिकारी इञ्जिनियर मकुन्दप्रसाद लामीछानेले जानकारी दिनुभयो । पुल निर्माणका लागि लम्बिनी प्राकृतिक जेभीले रु. ११ करोड २४ लाख २५ हजारमा ठेक्का सम्झौता गरेको छ । गत पुस २५ गते भएको सम्झौताअनुसार पुल २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य छ । निर्माण कम्पनीले पुल निर्माणका लागि जग खन्ने काम शुरु गरिएको जनाएको छ । यो पुल निर्माण भएपछि मङ्गला गाउँपालिकाको अर्मन र बरङ्जाका साथै बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दालाई सुबिधा पुग्ने जनाइएको छ ।
अर्मन र बरङ्जामा सडक निर्माण भएपनि मोटर चल्ने पुल नहुँदा स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित थिए ।