बिदा हुने बेला मुख्यमन्त्रीहरूको सम्मेलन

काठमाडौँ । बिदा हुनुपूर्व सातै प्रदेशका मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा सम्मेलन गर्ने भएका छन् । लुम्बिनीको राजधानी दाङ, देउखुरीमा पुस १५ मा मुख्यमन्त्रीहरूको सम्मेलन हुन लागेको हो । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रस्तावमा हुन लागेको सम्मेलनमा प्रदेशको पाँचवर्षे समीक्षा गर्ने र संघीयता कार्यान्वयनका लागि नयाँ प्रतिनिधिसभालाई सुझाव दिने तयारी छ ।

सम्मेलनमा लुम्बिनीका केसीसहित प्रदेश १ का राजेन्द्र राई, मधेसका लालबाबु राउत, वाग्मतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिमका त्रिलोचन भट्ट सहभागी हुनेछन् । पाण्डेले शुक्रबार पदबाट राजीनामा दिएको भए पनि सम्मेलनमा सहभागी हुने जानकारी गराएको लुम्बिनीका प्रवक्ता आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए ।

सम्मेलनमा मुख्यमन्त्रीहरूले अनुभव आदानप्रदान गर्नुका साथै कार्यसम्पादनका क्रममा संघीय सरकारबाट भएका उल्झनको समाधान खोज्ने, बाझिएका र बन्न नसकेका कानुन निर्माणका लागि अबको संसद्लाई सुझाव दिने विषयमा गम्भीर छलफल गर्ने तयारी छ । सम्मेलनमा पाण्डेबाहेकका पूर्वमुख्यमन्त्रीहरूलाई भने निमन्त्रणा गरिएको छैन । ‘प्रदेशको पहिलो कार्यकालको समीक्षा र प्रदेशले सम्बोधन गर्न नसकेका वा कानुनका कारण गर्न नमिलेका मुद्दाको विषयमा संघीय सरकार र संसद्लाई सुझाव दिने सम्मेलनको मुख्य उद्देश्य हो,’ प्रवक्ता शर्माले भने, ‘वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयन, प्रहरी समायोजन ऐन तथा निजामती ऐनका विषयमा गम्भीर ढंगले छलफल हुनेछ ।’

कतिपय प्रदेशले गरेका निर्णयका विषयमा अदालतमा थुप्रै मुद्दा रहेकाले त्यस विषयमा पनि छलफल चल्नेछ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापनापछि नयाँ स्थानमा प्रदेशको स्थायी राजधानी तोकेर कार्यान्वयनसमेत गरेकाले त्यसको त्यसको जानकारी दिन एवं भ्रमण गराउन पनि देउखुरीमै सम्मेलन गर्न लागिएको मन्त्री शर्माले बताए । लुम्बिनी प्रदेशले २०७७ असोज २० मा प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा बनाउने निर्णय गरेको थियो ।

प्रदेशसभाको निर्णयको दुई वर्ष दुई महिनापछि सरकारले प्रदेशसभासहित अधिकांश संरचना देउखुरीमै तयार गरेर मन्त्रालय स्थानान्तरण गरिरहेको छ । सम्मेलनको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने प्रवक्ता शर्माले बताए । मुख्यमन्त्री कार्यालयले देउखुरीमा मंसिर २८ मै काम सुरु गरिसकेको छ । प्रदेशसभा र अन्य ६ मन्त्रालय पनि पुस १५ भित्रै सार्ने गरी काम भइरहेको छ ।

लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक पनि स्थायी राजधानी देउखुरीमै गर्ने गरी प्रदेशसभाले तयारी अन्तिम चरणमा पुर्‍याएको छ । देउखुरीमा पूर्वाधार भइसकेकाले पुस २१ भित्रै नयाँ प्रदेशसभा सदस्यको शपथ गराउने तयारी भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘सकेसम्म पुस १७ र १८ र नभए पनि पुस २१ मा हुन्छ,’ उनले भने, ‘त्यसकै तयारीका लागि बुटवलबाट प्रदेशसभाका सबै सामान र सचिवालय देउखुरीमा सारिसकिएको छ ।’ प्रदेशसभा भवनको भित्री काम सकेर बाहिरी परिसर र संसदीय दलको बैठकका लागि कोठा तयारीको कामसमेत सम्पन्न भएको उनले बताए ।

निर्वाचन आयोगले अन्तिम मत परिणाम बुझाएको २१ दिनभित्रै प्रदेशसभाका सदस्यको शपथग्रहण गराउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार पनि सरकारले प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने र त्यसकै आधारमा प्रदेश प्रमुखबाट प्रदेशसभा सदस्यलाई शपथग्रहण गराउने सचिव पुनले बताए । प्रदेशसभामा गुल्मीको निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित ६९ वर्षीय डिल्लीराज भुसाल ज्येष्ठ सदस्य छन् । उनकै अध्यक्षतामा पहिलो बैठक बस्नेछ । कान्तिपुरपोष्टबाट