सिरहाको मिर्चैया तनावग्रस्त, पाँच राउण्ड गोली चल्यो

काठमाडौँ । सिरहाको मिर्चैया -३ मा रहेको विद्यालयमा अध्ययनरत १ जना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको बताएका छन् ।

गत शुक्रबार उनी विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी थिइन् । सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो ।

शनिबार राति १२ बजे उपचारको क्रममा फुलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिएका छन् । छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन् । आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नारावाजी समेत गरेका थिए ।

आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन ३ सेल अश्रु ग्यास र पाच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिएका छन् ।

सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए । स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचारको नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पु¥याएकाले समयमै उपचार हुन नसकेको उनले बताएका छन् ।

प्रन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीवेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौ”, उनले भने, अवस्था खराव हुँदै गएपछि अस्पताल पु¥यायौँ तर ढिला भइसकेको उनले बताए ।

प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिम्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएका छन् । मृतकका बुबा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि २ जनालाई नियन्त्रणमा लिएको हो ।

यसैगरी डिएसपी वलीले घट्ना विषयमा अनुसन्धान भइइहेको बताएका छन् ।