त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना, तीन जना घाइते

काठमाडौं, असार । ती यती एरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । नेपालगञ्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको छ ।

विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका तीन जना यात्रु घाइते बनेका छन् । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।

यति एअरलाइन्सको नाइन एन एएमएम कल साइन विमान कोटेश्वरपटिको ट्याक्सी वेको डेल्टा साइड मा चिप्लिएको हो । यो एक वर्षअघि युएस बंगला विमान दुर्घटना भएको स्थान नजिकै हो । जहाजमा २ बच्चासहित ६६ जना यात्रु थिए ।

रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि सवा १२ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको छ । तत्कालका लागि १२ः१५ बजेसम्म विमानस्थल बन्द गरिएपछि सवा १२ बजे विमानस्थल खुल्ने सम्भावना कम रहेको बताइएको छ ।

अहिले घाँसे मैदान र रनवेको आधा भागमा रहेको विमानलाई तानेर रनवेभन्दा बाहिर लैजाने प्रयास भइरहेको छ ।

विमानस्थलमा कार्यरत एक इञ्जिनियरका अनुसार विमानस्थल खुल्न झण्डै एक घण्टा लाग्न सक्नेछ ।

यता विमानस्थल बन्द भएपछि नेपाली आकाशमै होल्डमा रहेको विमानहरु डाइभर्ट गर्न थालिएको छ ।

त्रिभुवन विमानस्थल कन्ट्रोल टावरका अनुसार यतिबेला अन्तर्राष्ट्रिय विमानलाई दिल्लीमा डाइभर्ट गरिएको छ । आन्तरिक उडानलाई भने विभिन्न स्थानमा फिर्ता पठाइएको छ ।

ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको थियो ।