एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष केपीओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताए । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताएको हो ।

“अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उनले भने, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उनले विश्वास दिलाए ।

“अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगािड बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ”, एमाले संसदीय दलका नेता ओलीले भने, “अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।” सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उनले देशका लागि सँगै काम आह्वान गरे ।

“आगामी दिनलाई रचनात्मक ढङ्गले अगाडि बढाऔँ, देशका लािग धेरै काम गरौँ”, उनले भने, “आम नागरिकका समस्याका साथै भूमिसम्बन्धी समस्या, अपाङ्गता भएका व्यक्तिका समस्या समाधान गर्नुपर्नेछ ।” राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको असरबाट अझै नेपाली जनता मुक्त हुन नसकेको भन्दै उजले राजनीतक आन्दोलनबाट प्रभावित व्यक्तिलाई राहत दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने बताए । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता साझेदार दलको सहमतिमा छिट्टै न्यूनतम साझा कार्यक्रम आउने उनको भनाइ छ ।

“आज अर्थतन्त्र गम्भीर अवस्थामा छ । राजस्व उपयुक्त ढङ्गले उठिरहेको छैन । धेरै वर्षपछि राजस्व ऋणात्मक भएको छ । वैदेशिक मुद्राको सञ्चिति घटेको तथा निर्यात घटेर आयात बढेको छ”, अध्यक्ष ओलीले भने, “महँगी बढेर जनजीवन कष्टकर बनिरहेका अवस्थामा निर्वाचनपछि प्रतिनिधिसभा सुरु भएको छ, यी सबै समस्याको सकारात्मक समाधान खोजेर देशलाई अघि बढाउनुपर्छ ।”

वर्तमान सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको जानकारी दिँदै उनले भने, “सरकारलाई बधाई दिन्छु र चुनौती छन् भन्ने स्मरण गराउन पनि चाहन्छु ।”