काठमाडौँ । सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेश गर्ने तयारी गरेको बताएका छन् ।
जनता समाजवादी पार्टी जसपा मधेश प्रदेशप्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले आज मङ्गलबार अपराह्न ४ बजेसम्म जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा समर्थन गर्दै सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको जानकारी दिएका छन् ।
उनले आजै दाबी पेस गर्ने गरी सत्ता गठबन्धनका दलहरुले आन्तरिक तयारी गरेको र सोहीअनुसार प्रदेश प्रमुखसमक्ष समय मागसमेत भइसकेको बताए । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस २८ गते अपराह्न ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरे पनि सत्ता गठबन्धनले दुई दिनअघि नै दाबी पेस गर्ने तयारी गरेको हो ।
केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरुबीच मधेश प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार पहिलो आधा कार्यकालका लागि जसपा नेतृत्वमा सरकार बन्न लागेको हो । मधेस प्रदेशसभामा १६ सदस्यसहित तेस्रो पार्टीका रुपमा रहेको जसपालाई नेकपा एमाले २३, जनमत पार्टी १३, माओवादी केन्द्र आठ, राप्रपा र नागरिक उन्मुक्ति पार्टी एक/एक सहितका ६० प्रदेशसभा सदस्यको समर्थन रहने र यो सङ्ख्या बढ्न पनि सक्ने जनाइएको छ । रासस
Add Comment