भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने : मुख्यमन्त्री कार्कीको

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सुशासनका निम्ति भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताएका छन् ।

प्रदेशसभाको प्रथम अधिवेशनको आज बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले आयातलाई निरुत्साहित गर्न कृषिमा व्यवसायीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै प्रदेश सरकारले प्रदान गर्ने सेवा चुस्त एवं दुरुस्त हुने कुरामा जोड दिएका छन् ।

उनले शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता आगाडि बढाउने जनाउँदै सरकारले प्रदेश संरचना निर्माणमा पनि विशेष ध्यान दिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशको नाम राजनीतिक दलहरुकै सहमति र सहकार्यबाट टुङ्गो लगाउने उल्लेख गर्दै प्रदेशको आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकार गम्भीर रहेको बताए ।

उनले दलहरुबीच सहकार्य र एकता गरी अघि बढ्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकाले अनुभव र ज्ञानलाई पूर्ण प्रयोग एवं उपभोग गरी प्रदेशलाई व्यवस्थित बनाउँदै लैजाने धारणा राखेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकारले प्रदेशको अवस्था बुझेर जनताको जीवनस्तर उकास्ने योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको औचित्य सावित गर्न प्रदेश सरकारले समृद्धि र सुशासनको क्षेत्रमा काम गर्नुपर्ने बताएका छन् । नेकपा एमालेका तर्फबाट रामबहादुर मगरले प्रदेशको नामकरण गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय सरकारले कतिपय कानुन निर्माण गर्न नसक्दा प्रदेश सरकारलाई समस्या भएको बताए ।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेश सरकार जनताप्रति पूर्णरुपमा उत्तरदायी हुनुपर्ने जनाउँदै सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउन संविधानमा संशोधन हुनुपर्ने माग राखेका छन् । बठकको प्रारम्भमा प्रदेशसभाका ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डल गनगाइँले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्र पढेर सुनाएका छन् ।

उनले प्रदेशसभा नियमावली, २०७४९पहिलो संशोधन समेत को नियम ७ बमोजिम सभामुख पदको निर्वाचन यही पुस २८ गते बिहान ११ बजे हुने मिति घोषणा गरेको जानकारी दिएका छन् ।