छ महिनापछि गाउँपालिकाको बजेट पारित

काठमाडौँ । सर्लाहीको विष्णु गाउँपालिकाले छ महिनापछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन ।

पटक–पटक गाउँसभाको बैठक बस्ने प्रयास गरेको भए पनि सहमति जुट्न नसक्दा बजेट पारितमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले बताए ।

स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र बजेट एकैसाथ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए ।

“जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन”, उनले भने, “लामो समयपछि राजनीतिक सहमति जुटेपछि नीति तथा कार्यक्रम र बजेट दुवै पारित भएको हो ।”

गाउँसभाले चालु आर्थिक वर्षका लागि ५० करोड ८७ लाख ८८ हजार ९ सय ८० बराबरको बजेट ल्याएको थियो । बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतले पनि बजेट पारित नहुँदा सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन् । विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अबदेखी तलब, भत्ता, कार्यक्रम, योजना सबै नियमित चल्ने बताए ।