कम्बोडिया आगलागीमा मृत्यु भएका पाण्डेको अन्तिम संस्कार

काठमाडौँ । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव झापा ल्याइएको छ । शनिबार दिउँसो १२ बजे विर्तामोड निवासमा शव ल्याइएपछि कनकाई नदीको तटमा अन्तिम संस्कार गरिएको छ ।

पुस १४ मा भएको भीषण आगलागीमा १२ औं तलाबाट हाम फाल्दा मृत्यु भएका उनको शव शुक्रबार काठमाडौं आइपुगेको थियो ।

उनी विर्तामोड नगरपालिका–१ वडाध्यक्ष अग्नि पाण्डेका छोरा समेत हुन् । मृत्युअघि घरपरिवारसँग उनले गरेको भावुक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि परिवारका सदस्यहरुलाई भेटेर शव ल्याउन सहयोग गर्ने बताएका थिए ।