देशका लागि राजनीतिक स्थिरता आवश्यक : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् ।

मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भने, नेपालमा विसं २००७, २०१७ साल र त्यसपछि पनि धेरै क्रान्ति भएको छ । देशमा संविधान पनि राम्रै बन्यो, मैले त्यसमा भूमिका राम्रै निर्वाह गरे तर देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन, जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको छैन र जनताको तहसम्म परिवर्तन नपुगेको बताए ।

असल छोराले मात्रै आफ्ना बाबुआमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने बताउँदै उनले स्व राणाको छोरा असल रहेको नमूना प्रस्तुत गरेको चर्चा गरेका छन् । पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजारसहित वरिष्ट साहित्यकार धु्रवचन्द्र गौतम, वरिष्ट पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ्ग प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवं सम्मान प्रदान गरेका छन्।

सम्मानित व्यक्तित्वलाई नगद पुरस्कारसहितको थैली प्रतिष्ठानका अध्यक्ष कविर राणाले प्रदान गरेका छन् । राणा परिवारले एसएलसी उत्तीर्ण गरेको विद्यालय आदर्श माध्यमिक विद्यालय, सानोठिमीका पूर्वविद्यार्थी समाजका अध्यक्ष सुवासचन्द्र ढुङ्गेल र स्व राणाले अध्ययन गरेको बैङ्कोटेश्वर गुरुकूल विद्यालयलाई ५१ हजारसहित छात्रवृत्ति कोष स्थापना गर्न अध्यक्ष राणाले नगद हस्तान्तरण गरे ।

नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरी, कांग्रेस नेता एवं पूर्वसांसद लेखनाथ न्यौपाने, कांग्रेस भक्तपुर सभापति एवं सांसद दुर्लभ थापाले स्वर्गीय राणाको दिएको असल संस्कार र योगदानले कर्मठ सन्तान पाएको भन्दै राणा परिवारले गरेको राजनीति, सामाजिक सेवाका कर्मले समाजलाई योगदान पु¥याएको चर्चा गरेका छन् । सम्मानित व्यक्तित्वहरु साहित्यका गौतम, पत्रकार विरही र बस्नेतले प्रतिष्ठान स्थापना, यसले सुरु गरेको असल कामले सबैलाई प्रोत्साहन मिल्ने बताएका छन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राणाले जुनसुकै काम पनि आफ्ना मातापितालाई सम्झेर उहाँहरूले देखाएको असल बाटोलाई अङ्गिकार गरेको बताए । उनले कांग्रेसको भक्तपुर जिल्ला कार्यालयको भवन निर्माणका लागि प्रतिष्ठानको तर्फबाट १ लाख ५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

त्यस अवसरमा प्रतिष्ठानका महासचिव रवि राणाले स्वर्गीय आमाको स्मरणमा प्रतिष्ठान स्थापना गरी पहिलो वर्षमै वरिष्ठ व्यक्तित्वलाई पुरस्कार र विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेर आमाको स्मरणलाई जीवन्त राखेको बताए ।