राष्ट्रपतिद्वारा अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण

फाइल तस्बिर

ठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई शहीदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् ।

आजको दिनले हामीलाई सहिदहरूले गरेको सर्वोच्च त्यागको स्मरण गराउने राष्ट्रपति भण्डारीको भनाई छ। राष्ट्रपति भण्डारीले दिगो शान्ति‚सुशासन‚ विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने बताइन्। ‘आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउँदछ । हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो ।’ जारी सन्देशमा भनिएको छ, ‘सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति‚ सुशासन‚ विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने मैले ठानेको छु ।’

सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौं ।