बलिदान होइन अब देशका लागि योगदान गरौं : मेयर बालेन साह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन् ।

लैनचौरस्थित शहीद स्मृति पार्कमा सोमबार शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका हुन् ।

उनले शहीदहरुले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाइ छ ।

शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने मेयर साहले बताए । ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु ,उनले भने । अनलाइन खबर