अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको भारतस्थित कार्यालयमा कर विभागद्धारा छापा

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीको भारत स्थित कार्यालयमा भारतको आयकर विभागले मंगलबार छापा मारेको छ । पश्चिमी राज्य गुजरातमा सन् २००२ मा भएको घातक दंगामा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमाथि प्रश्न उठाउने खाले वृत्तचित्रको क्लिप केही दिन अघि बीबीसीले बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोन कब्जामा लिइएको जनाइएको छ ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो ।